Dr. Shiv Prasad Paudyal (विवश / प्रतिकूल)

    Litterateur

2023-2077 (BS)

कथाकार व्यक्तित्व

शिवप्रसाद पौड्यालको अढाई दशक लामो साहित्यिक यात्रामा यिनको सृजनात्मक क्षमताको परिचय दिने विधा कथा भएको पाइन्छ । अग्रज कथाकारका कथाहरू पढेपछि जागेको चिन्तनले ठाउँ बनाएकै अवस्थामा चर्चित कथाकार रमेश विकलको कथा लेखनको तरिकाले एकतिर उत्प्रेरित ग¥यो भने अर्कोतिर समाजका घटनाहरूलाई कलात्मक तरिकाले बुझ्न सक्यो भने कथा जन्मिन सक्छ भन्ने अन्तरचेतनाको परिणतिबाटै पौड्यालले कथा लेखनको प्रेरणा पाएको स्वयम् पौड्याल बताउँछन् । पौड्याल आफूलाई विशेषत: रमेश विकल, शिवकुमार राई, दिल साहनीजस्ता कथाकारको नजिक भएको ठान्दछन् (स्रष्टासँगको अन्तर्वार्ता । वि.सं. २०६८ सालमा पौड्याल ॐ ज्ञानज्योेिति पत्रिकामार्फत ‘तक्दीरमा नभएपछि’ शीर्षकको पहिलो कथा लिएर नेपाली कथा साहित्यमा पर्दापण गरेका हुन् । लेखन र प्रकाशन दुबैका हिसाबले पौड्यालको यो नै पहिलो कथा बन्न पुग्यो । त्यसपछि क्रमश: ‘पुण्य गर्ने व्यक्ति’, ‘उद्योगीको घरमा लक्ष्मी’, ‘कलिको मान : चिया र पान’, ‘किन वर्जित भयो लसुन र प्याज ?’, ‘क्रान्ति योद्धा जन्मने छ’, ‘खाँटी दूधमा पानी हालेर’, ‘सम्पदा र उसको बिरालो’, ‘भौतिक सुखको खसखस, विद्या निष्फल भो त्यसको जो छैन पितृसेवक’ प्रकाशित हुँदै आएको पाइन्छन् (पौड्याल, २०७३ पृ. ११६) । विभिन्न समयमा विभिन्न साहित्यिक पत्रपत्रिकामा प्रकाशित कथा तथा अप्रकाशित कथाहरू सहित पौड्याल वि.सं. २०७३ सालमा ‘अमर फल’ कथासङ्ग्रह लिएर नेपाली साहित्यको आधुनिक कथा विधामा उपस्थित जनाएका छन् । यस ‘अमर फल’ कथासङ्ग्रहमा ३३ वटा कथाहरू सङ्ग्रहित छन् । आदि, मध्य र अन्त्यको रैखिक ढाँचामा आबद्ध पौड्यालका कथाहरूको आकार भने लघु आयामका देखिन्छन् । पौराणिक तथा लोकजीवनसँग सम्बद्ध विषयलाई पौड्यालले मौलिक किसिमबाट प्रस्तुत गरेर कथाहरूलाई पाठकको लागि अमृतपान जस्तै बनाएको कुरा कथा पढ्दा जो कोहीले अनुभव गर्न सकिन्छ । पौड्यालका कथाहरूमा पौराणिक, ऐतिहासिक, लोककथा, लोकजीवन, मनोविज्ञान तथा सामाजिक सन्दर्भजस्ता विषयगत विविधताहरू जोडिन पुगेका देखिन्छन् । शिवप्रसाद पौड्याल नेपाली लोकसाहित्यको क्षेत्रमा परिचित र स्थापित स्रष्टा हुन् । पौड्याल लोकसाहित्यको अध्येताको रूपमा चिनिन्छन् । ‘अमर फल’ कथासङ्ग्रहमा सङग्रहीत कथाहरूलाई लोककथा नभनी आधुनिक कथा भनिए पनि यी कथाहरू लोककथाकै नजिक देखिन्छन् । लोक कथामा मौलिकता तथा सामाजिक विषयवस्तु मिसाएर कथाहरू सिर्जना भएका छन् । उपदेशात्मक नैतिक शिक्षा तथा सामाजिक आर्दशलाई मूल विचारका रूपमा पौड्यालले स्थापित गराएका छन् (अधिकारी, २०७२ पृ. १९२) ।
नेत्रप्रसाद न्यौपानेले शिवप्रसाद पौड्याललाई यथार्थपरक, आदर्शपरक, मनोवैज्ञानिक तथा विसङ्गतिपरक कथाकारको रूपमा चिनाएका छन् । उनका कथाहरूमा सामाजिक, मनोवैज्ञानिक, ऐतिहासिक, यथार्थवादी प्रवृत्ति देखा परेको पाइन्छ । पौड्यालका कथाहरूभित्र पौराणिक मिथकिय, लौकिक मिथकिय, सांस्कृतिक मिथकिय शिल्पलाई उपयोग गर्दै विषयवस्तुमा नवीनता र अभिव्यक्तिमा चमत्कारिता पाइन्छ (पौड्याल, २०७३ पृ. झ) । शिवप्रसाद पौड्याल उखान र टुक्काहरू अन्वेषक भएकाले हुन सक्छ उनले आफ्ना कथाहरूमा उल्लेख्य मात्रामा सार्थकता आउने गरी उखान र टुक्काको प्रयोग गरेको पाइन्छ । ‘काला अक्षर भैंसी बराबर’ शीर्षक कथा यसैको उदाहरण हो । उनका कथाहरूमा समाज रूपान्तरणको लक्ष्य बोकेको पाइन्छ । प्रत्येक कथामा आदर्श पात्रको उपस्थित गराई समाजको परिकल्पना उनका कथाभित्र पाइन्छ । नेपाली समाजमा विद्यमान विकृति, विसङ्गति, बेथिति, भ्रष्टचार, दुराचारको भण्डाफोर गर्ने कार्यमा समेत पौड्याल सफल भएको देखिन्छ । नेपालको प्रकृति र संस्कृति, मायाप्रेम तथा रोजगारीका क्रममा विदेशिन बाध्य भएका नेपालीहरूको कारूणिक व्यथा, पारिवारिक विचलन, आदर्शवादी चिन्तन, वर्तमान समयमा सन्ततिहरूले आफ्ना बाबुआमाप्रतिको रूखो व्यवहारजस्ता विषयगत विविधताले उनका कथाहरू निर्मित भएको अध्ययनको क्रममा भेटिन्छ ।

कवि व्यक्तित्व

शिवप्रसाद पौड्यालको साहित्य सिर्जना कविता लेखनबाट आरम्भ गरेका हुन् । पौड्याल बनारसमा संस्कृत अध्ययनको क्रममा बस्दादेखि नै कविता लेखनमा लागेको देखिन्छ । सन् १९८३ मा बनारसबाट प्रकाशित हुने ‘युग पुकार’ भन्ने पत्रिकामा उनको पहिलो कविता ‘हास्यव्यङ्ग्य’ प्रकाशित भएको थियो ।यसै क्रममा सन् १९८४ हरिद्वारमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सङ्घ नेपाली छात्र समितिबाट प्रकाशित हुने ‘सगरमाथा’ नामक पत्रिकामा पनि पौड्यालको ‘यो कस्तो’ कविता प्रकाशित भएको थियो तर हाल उनीसँग उक्त कविता उपलब्ध नरहेको स्वयम् पौड्याल बताउँछन् (स्रष्टासँगको अन्तर्वार्ता । बनारसमा रहँदा हास्यव्यङ्ग्य कविता लेखनबाट साहित्यिक यात्रा सुरु गरेका पौड्यालले नेपाल फर्केपछि विभिन्न पत्रपत्रिकाहरूमा लेख रचनाको प्रकाशनलाई तीव्रता दिएको देखिन्छ । यसै क्रममा पौड्यालले वि.सं. २०५१ सालमा नौलो कोसेली पत्रिकामा ‘नौलो कोशेली : नौलो सन्देश’ शीर्षक कविता प्रकाशित गरेका छन् (स्रष्टासँगको अन्तर्वार्ता । पौड्याल कविता विधाबाट नेपाली साहित्यिक यात्रामा पर्दापण गरेको देखिन्छ । पौड्यालका थोरै मात्र फुटकर कविता प्रकाशित भएका छन् । हालसम्म कवितासङ्ग्रह प्रकाशित भएको देखिँदैन । यिनका अन्य प्रकाशित कविताहरूमा ‘विडम्बनाको मुलुक’ (२०६१), ‘देशको हालबखर लाहुरेलाई’ (२०६४), ‘आजको जिन्दगी– कस्तो जिन्दगी’ (२०६५), ‘गजल’ (२०६७), ‘वर्तमान’ (२०७३) हुन् । उनले व्यङ्ग्यात्मक कविता पनि लेखेका छन् जुन ‘धन्य कठपुतली सरकार !’ शीर्षकमा घुयेँत्रो (२०६६) मा प्रकाशित भएको पाइन्छ ।

अनुसन्धाता व्यक्तित्व

शिवप्रसाद पौड्यालको साहित्यिक व्यक्तित्व निर्माणको जग भनेकै नेपाली लोकसाहित्यको खोज तथा अनुसन्धान नै रहेको पाइन्छ । यिनका अधिकांश प्रकाशित कृतिहरू नेपाली लोकसाहित्यको उखान, टुक्का र गाउँखाने कथा विधासँग सम्बन्धित रहेका देखिन्छन् । वि.सं. २०५१ सालमा त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत एम.ए.दोस्रो वर्षको आठौँ पत्रको प्रयोजनको लागि ‘लुम्बिनी क्षेत्रमा प्रचलित नेपाली उखानको अध्ययन’ शीर्षकमा यिनले शोधकार्य गरेको देखिन्छ । यो नै यिनको पहिलो अनुसन्धान कृति हो (सिलवाल, २०६६ पृ. १३) । वि.सं. २०५१ सालमै ‘गुल्मी जिल्ला हर्दिनेट गा.वि.स.को शैक्षिक अवस्था’ शीर्षकमा विकास सेवाको भिलेज प्रोफाइल यिनको दोस्रो अनुसन्धान कृति हो । ‘नेपाली उखानको विषयात्मक अध्ययन’ (२०६०) पौड्यालको पहिलो प्रकाशित अनुसन्धानात्मक कृति हो । त्यस लगत्तै वि.सं. (२०६१) सालमा नेपाली टुक्काहरूको सर्वेक्षण र विश्लेषण तथा नेपाली गाउँखाने कथाकोश पौड्यालको दोस्रो र तेस्रो अनुसन्धानात्मक कृतिहरू प्रकाशित भएको पाइन्छ । नेपाली उखानका रचना सन्दर्भ (२०६८), नेपाली टुक्का कोश (२०६८), लोककथा सन्दर्भका नेपाली उखान (२०६८), नेपाली उखान सङ्ग्रह (२०६९) तथा सामाजिक, सांस्कृतिक सन्दर्भका नेपाली उखान (२०७१) उनका प्रकाशित अन्य कृतिहरू हुन् । पौड्यालका प्रकाशित कृतिहरूको अध्ययनबाट पौड्यालले नेपाली उखान, टुक्का र गाउँखाने कथा विधाहरूसँग निकट भएर निरन्तर अनुसन्धान कार्य गरेको पाइन्छ ।

निबन्धकार व्यक्तित्व

शिवप्रसाद पौड्यालले निबन्ध विधामा पनि कलम चलाएका छन् । समाजमा बढ्दो शोषण, अनैतिकता, बेइमानी, दण्डहीनता, सामाजिक मूल्य र मान्यताको खस्कँदो स्थिति देख्दा दिक्क भएर पौड्यालले निबन्धको माध्यमबाट सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गरेका छन् (स्रष्टासँगको अन्तर्वार्ता । यिनका व्यङ्ग्यात्मक निबन्धहरू विभिन्न पत्रपत्रिकामा प्रकाशन भएको पाइन्छ । यिनी अनुसन्धाता भएकोले यिनका निबन्ध, अनुसन्धानात्मक पनि छन् । अहिलेसम्म यिनको सिङ्गो निबन्ध कृति प्रकाशित भएको देखिँदैन । यिनका व्यङ्ग्यात्मक निबन्धका लेखहरू प्रकाशित भएका देखिन्छन् । ‘के छ ? ठिक छ’ शीर्षक निबन्ध दिव्यज्योति स्मारिकामा वि.सं. २०५९ मा प्रकाशित भएको थियो । यो नै यिनको पहिलो प्रकाशित निबन्ध रहेको पाइन्छ । यिनका अन्य प्रकाशित निबन्धहरूमा ‘अपमानको विष खाएपछि’ (२०६६), ‘जीवन आकाशको फूल’ (२०७१ कार्तिक), ‘भ्रमन : महान् शिक्षा’ ( २०७१ चैत २०७२) जनघोष साहित्यिक मासिक (२०६९) मा पौड्यालको ‘जागिरको रहर : जीवनको कहर’ शीर्षक नियात्रा पनि प्रकाशित भएको पाइन्छ ।

समालोचक तथा भूमिका लेखेखन व्यक्तित्व

शिवप्रसाद पौड्यालले साहित्यिक समलोचनामा पनि हात हालेको पाइन्छ । यिनले वि.सं. २०६५ सालमा जनघोष पत्रिका प्रकाशित ‘रमेश विकल र उनको लाहुरी भैंसी’ कथामा अन्तर्निहित शोषकीय चित्रण’ शीर्षकको कृति समीक्षामा समालोचना गरेको पाइन्छ । जनघोष साहित्यिक मासिक पत्रिका (२०६७) मा ‘लेखनाथ ज्ञवालीको व्यक्तित्व र कृतित्व : एक समीक्षा यिनले गरेको समालोचनात्मक अध्ययन हो । पौड्यालले समीक्षा गरेको अर्को नेपाली गाउँखाने कथाको अध्ययन (२०६९) हो ।
समालोचकको साथै शिवप्रसाद पौड्यालको अर्को क्षेत्र विभिन्न साहित्यिक कृतिहरूको भूमिका लेखन पनि हो । ‘सुहागरातकी आमा’ कथासङ्ग्रह (२०७२) मा पौड्यालको एक समीक्षात्मक टिप्पणी प्रस्तुत गरेको पाइन्छ । आमा कवितासङ्ग्रह (२०६८) को पनि एक टिप्पणी प्रस्तुत गरेको देखिन्छ । ‘बत्तीस पुतली’ कथासङ्ग्रह (२०७१), बोक्सिनी आमा कथासङ्ग्रह (२०७१) तथा ‘वैदिक दर्शन र वैज्ञानिक दृष्टिकोण’ कृतिको भूमिका लेखन पौड्यालले नै गरेको देखिन्छ । ‘समलोचनालाई आफ्नो मुख्य गन्तव्य बनाएका शिवप्रसाद पौड्याल भनेर प्रेम तिवारीले पौड्यालको अमरफल कथासङ्ग्रहको समीक्षाको क्रममा भनेका छन् (२०७३ पृ. ५) । यसले पनि पौड्यालको समालोचनात्मक क्षमताको आकलन गर्न सकिन्छ ।

सम्पादक व्यक्तित्व

शिवप्रसाद पौड्यालको अढाई दशक लामो अनुसन्धान तथा साहित्य लेखनभित्रको अर्को क्षेत्र सम्पादक पनि हो । पौड्यालले हालसम्म विभिन्न पुस्तकहरूको र कृतिहरूको सम्पादन गरेको पाइन्छ । विभिन्न पत्रपत्रिका र फुटकर लेखरचनाहरूको समेत पौड्यालले सम्पादन गरेको पाइन्छ । यिनले विभिन्न साहित्यिक मासिक पत्रिकाको सम्पादन मण्डलीमा समेत आफूलाई संलग्नता गराएको देखिन्छ । यिनले सम्पादन गरेको पहिलो पत्रिका भने ‘दिव्यज्योति स्मारिका’ २०५९ हो । उक्त स्मारिका दिव्यज्योति बहुमुखी क्याम्पस वर्दघाट नवलपरासीले वि.सं. २०५९ मा प्रकाशन गरेको थियो । त्यतिबेला पौड्याल उक्त क्याम्पसमा प्राध्यापन गर्दथे । त्यसपछि वि.सं. २०६४ देखि वि.सं. २०६६ सालसम्म पौड्यालले ‘जनघोष’ साहित्यिक मासिक पत्रिकाको सम्पादन मण्डलमा रहेर कार्य गरेको पाइन्छ । शिवप्रसाद पौड्याल र अन्यद्वारा लिखित ‘नेपाली बाल विश्वकोश’ को सम्पादन कार्यमा पनि पौड्यालको सक्रियता रहेको कुरालाई प्रा.डा. चूडामणि बन्धुले धन्यवाद ज्ञापनको क्रममा भनेबाट प्रष्ट हुन्छ (२०६२) ।
शिवप्रसाद पौड्यालले सम्पादन तथा सह–सम्पादन गरेका मुख्य–मुख्य कृतिहरू दिव्यज्योति स्मारिका (२०६४), जनघोष मासिक (२०६४–२०७०), नेपाली रिसर्च हाइलाइट ( २०७०–७२) र सामाजिक सन्दर्भ (२०७०–२०७२) हुन् ।